
काठमाडौं -साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। लगातार चार कारोबार दिन बढेको नेप्से आज भने १५.४३ अंकले घटेर २,५४५.४० विन्दुमा झरेको हो।
आज सेन्सेटिभ इन्डेक्स १.६१ अंक, फ्लोट इन्डेक्स १.०१ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ।
सूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३५२ स्टकको ५० हजार ८०४ पटकको कारोबारबाट १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच भएका छन्। यसबाट कुल कारोबार रकम ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ पुगेको छ।
बुधबार अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ बढेर २९९ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, शुभम् पावरको शेयरमूल्य करिब ६.५ प्रतिशतले बढेको छ।
अर्कोतर्फ, इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी तथा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
बुधबार बजारका सबै १३ उपसमूहको परिसूचक घटेका छन्। विकास बैंक उपसमूह सर्वाधिक २.३७ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।






Leave a Reply