काठमाडौं — कालंगा हाइड्रो लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरेको हो।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न अनुमति पाएको छ। यसमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।
स्थानीयतर्फ छुट्याइएको शेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गरिनेछ। यसमा बझाङ, बैतडी र दार्चुलाका विभिन्न वडा समावेश छन्। बाँकी ४ लाख ९० हजार कित्ता भने प्रभावित तर अति प्रभावित क्षेत्रभन्दा बाहिरका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
यस्तै, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन दिने अवधि छिटोमा चैत २४ गतेसम्म कायम रहनेछ भने पूर्ण बिक्री नभएमा वैशाख ९ गतेसम्म म्याद थप हुन सक्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र आवश्यक परेमा चैत २४ गतेसम्म कायम रहनेछ।
कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम जोखिमयुक्त रहेको संकेत गर्दछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणाली तथा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।




