काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सो बाँडफाँटपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि शेयर बिक्री खुला गरिएको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। तीमध्ये सर्वसाधारणका लागि बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख कित्ता शेयर निष्काशन गरिएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।




