Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढीको कहरले सडक पूर्वाधार तहसनहस: क्षति ३० अर्ब, पुनर्निर्माणलाई ५० अर्ब लाग्ने

काठमाडौं — भदौ १० गतेदेखि रसुवामा आएको बाढीले सडक तथा पुलको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार विपत्तिबाट देशभर सडक र पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — भदौ १० गतेदेखि रसुवामा आएको बाढीले सडक तथा पुलको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार विपत्तिबाट देशभर सडक र पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको प्रारम्भिक आकलन गरिएको हो ।

क्षतिग्रस्त संरचनालाई पुनः सञ्चालनमा ल्याउनेदेखि दीर्घकालीन रूपमा थप सुरक्षित र बलियो बनाउनेसम्मका कामका लागि भने कम्तीमा ५० अर्ब रुपैयाँ आवश्यक पर्ने विभागको प्रारम्भिक अनुमान छ। यसमा पुनःस्थापना, पुनर्गठन तथा पुनर्निर्माणका कामसमेत समेटिएका छन्।

महानिर्देशक जैसीले यसपटक देखिएको बाढीलाई सामान्य प्राकृतिक घटनाका रूपमा लिन नसकिने बताए। उनका अनुसार कतिपय क्षेत्रमा पानीको सतह अस्वाभाविक रूपमा बढेको थियो भने बहावको गति प्रतिसेकेन्ड ५२ मिटरसम्म पुगेको थियो।

सडक विभागले सामान्यतः १०० वर्षको पुनरावृत्ति अवधिलाई आधार मानेर पुलको डिजाइन गर्ने र त्यसमा करिब दुई मिटर अतिरिक्त उचाइ अर्थात् ‘फ्री–बोर्ड’ राख्ने गरेको छ। तर, अहिले देखिएको बाढीको तीव्रता र परिमाण नियमित पूर्वानुमानभन्दा निकै बाहिर रहेको जैसीको भनाइ छ।

उनका अनुसार पछिल्लो विपत्तिले सडक पूर्वाधार निर्माणको शैलीमै पुनर्विचार गर्नुपर्ने अवस्था देखाएको छ। जलवायु परिवर्तनका कारण बढ्दो जोखिम र हिमाली तथा पहाडी भूभागको संवेदनशीलतालाई ध्यानमा राखेर आगामी दिनमा पूर्वाधार निर्माणका मापदण्ड तथा प्रविधिमा सुधार गर्ने तयारी विभागले गरेको छ।

विशेषगरी मुलुकको ‘लाइफलाइन’ मानिने प्रमुख राजमार्गमा निर्माण हुने पुललाई पहिलेभन्दा अग्लो, लामो र अत्यधिक जोखिम सहन सक्ने बनाउने रणनीति अघि सारिएको छ। यसका लागि सुरक्षित प्रविधि र जोखिमअनुकूल डिजाइनलाई प्राथमिकता दिइने विभागले जनाएको छ।

यसैबीच बाढी तथा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने काम पनि तीव्र पारिएको छ। सबैभन्दा बढी चासोको विषय बनेको पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा प्राविधिक टोली परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/