काठमाडौं — सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। अवरोधका कारण उक्त सडकखण्ड भएर सञ्चालन हुने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा ढाकेकाले यातायात सञ्चालन हुन सकेको छैन।
सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरी प्रहरी टोली तथा आवश्यक उपकरण परिचालन गरिएको जनाइएको छ। पहिरो पन्छाउने काम जारी रहेकाले केही समयपछि सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।




