काठमाडौँ — अमेरिकी नियामक निकायले ल्याएको नयाँ प्रस्तावका कारण विश्व प्रविधि व्यापारमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ। चिनियाँ प्रयोगशालाहरूलाई अमेरिकी बजारका लागि इलेक्ट्रोनिक उपकरण परीक्षण गर्नबाट रोक्ने योजनाप्रति चीनले कडा आपत्ति जनाउँदै प्रतिकार गर्ने चेतावनी दिएको छ।
अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) ले अघि सारेको उक्त प्रस्ताव कार्यान्वयनमा आए स्मार्टफोनदेखि क्यामेरासम्मका विभिन्न उपकरणहरू प्रभावित हुनेछन्। एफसीसीका अनुसार हाल अमेरिकामा प्रयोग हुने करिब ७५ प्रतिशत प्रमाणित उपकरणहरू चीनस्थित मान्यता प्राप्त प्रयोगशालाहरूमा परीक्षण गरिन्छन्, जसले प्रस्तावको प्रभाव व्यापक हुनसक्ने देखाउँछ।
यस निर्णयप्रति प्रतिक्रिया दिँदै चीनको वाणिज्य मन्त्रालयले यस्तो कदमले अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार प्रणालीलाई गम्भीर रूपमा कमजोर बनाउने चेतावनी दिएको छ। मन्त्रालयले अमेरिका आफ्नो निर्णयमा अडिग रहे चीनले आफ्ना उद्यमहरूको हित रक्षा गर्न आवश्यक कदम चाल्ने स्पष्ट संकेत दिएको छ।
चीनले अमेरिकामाथि चिनियाँ कम्पनी र उत्पादनलाई लक्षित गर्दै प्रतिबन्धात्मक उपायहरू लागू गरेको आरोप पनि लगाएको छ। यस्ता कदमहरूले दुई देशबीचको व्यापारिक स्थिरता बिगार्ने र पूर्व सहमतिविपरीत जाने चीनको दाबी छ।
उता, एफसीसीले भने प्रस्ताव राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले ल्याइएको जनाएको छ। यसअघि पनि एजेन्सीले विदेशी नियन्त्रणमा रहेका परीक्षण प्रयोगशालाहरूलाई सीमित गर्ने नियम लागू गरिसकेको थियो। नयाँ प्रस्तावले अमेरिकासँग पारस्परिक मान्यता वा समान व्यापार सम्झौता नभएका देशका प्रयोगशालाहरूको मान्यता हटाउने लक्ष्य राखेको छ।
एफसीसीका अनुसार चीनसँग यस्तो कुनै सम्झौता छैन। प्रस्ताव पारित भएमा चिनियाँ प्रयोगशालामा परीक्षण तथा प्रमाणीकरण भएका उपकरणहरूलाई दुई वर्षभित्र चरणबद्ध रूपमा अमेरिकी बजारबाट हटाइनेछ।
विश्लेषकहरूले यो कदमलाई केवल व्यापारिक विवाद मात्र नभई अमेरिका–चीनबीचको रणनीतिक प्रतिस्पर्धाको अर्को चरणका रूपमा व्याख्या गरेका छन्। यसले प्रविधि आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय व्यापार अभ्यास र द्विपक्षीय सम्बन्धमा दीर्घकालीन प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।




