काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विशेषगरी एसियाली बजारमा बुधबार बिहानै तेलको मूल्य घटेको हो।
ट्रम्पले इरानसँग जारी तनाव अन्त्य गर्न वार्ता भइरहेको संकेत गरेपछि लगानीकर्ताहरूमा सकारात्मक सन्देश गएको छ। यसले बजारमा उत्साह थप्दै तेलको मूल्य घट्न सहयोग गरेको विश्लेषण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्कका रूपमा लिइने ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले घटेर प्रति ब्यारल ९७.६५ अमेरिकी डलरमा झरेको छ। अघिल्लो दिन मात्र ब्रेन्टको मूल्य १०० डलर नाघेको थियो।
यस्तै, अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य पनि करिब ६ प्रतिशतले घटेर प्रति ब्यारल ८६.७७ डलरमा पुगेको छ।
यद्यपि, हालको मूल्य अझै पनि इरानसँगको तनाव सुरु हुनुअघिको तुलनामा उच्च रहेको छ। पछिल्ला दिनहरूमा सम्भावित आपूर्ति अवरोधको चिन्ताले तेलको मूल्य बढ्दै गएको थियो।
विश्लेषकहरूका अनुसार यदि इरानसँगको वार्ता सफलतर्फ अघि बढ्यो भने आगामी दिनहरूमा तेल बजारमा थप स्थिरता आउन सक्ने अपेक्षा गरिएको छ।




