काठमाडौं — इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार ड्रोन आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन्। विस्फोटको आवाजसँगै दूतावास परिसरबाट कालो धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
समाचार संस्था एएफपीका अनुसार दूतावास परिसरमा ड्रोनमार्फत आक्रमण गरिएको दुई सुरक्षा अधिकारीहरूले बताएका छन्। घटनाबारे अमेरिकी दूतावासले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।
यो आक्रमण इरान समर्थित सशस्त्र समूह काताइब हेजबुल्लाहका सदस्यहरूलाई लक्षित गरी गरिएको दुई छुट्टाछुट्टै आक्रमणपछि भएको बताइएको छ। ती आक्रमणमा एक कमान्डरसहित तीन सदस्यको मृत्यु भएको थियो।
पहिलो आक्रमण बग्दादको अरासत क्षेत्रमा रहेको एक घरमा भएको थियो। त्यसको करिब दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीलाई लक्षित गरी दोस्रो आक्रमण गरिएको थियो। इरान समर्थक स्रोतहरूका अनुसार उक्त घटनामा काताइब हेजबुल्लाहका कमान्डर अबु अली अल–अमिरीसहित तीन जना लडाकु मारिएका छन्।
घटनापछि बग्दादमा उनीहरूको अन्त्येष्टि जुलुस निकालिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार समूहका उच्च नेता अहमद अल–हमिदावी पनि घरमा भएको आक्रमणमा घाइते भएका छन्।
इरान समर्थक स्रोतहरूले उक्त घटनालाई ‘लक्षित हत्या प्रयास’ भन्दै प्रतिक्रिया दिएका छन्। यद्यपि उक्त आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
लामो समयदेखि अमेरिका र इरानबीचको प्रतिस्पर्धाको केन्द्र बनेको इराकमा हालका दिनहरूमा तनाव झन् बढ्दै गएको छ। विशेष गरी फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा द्वन्द्व थप चर्किएको छ।
युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि यो दोस्रो पटक आक्रमण भएको हो। इरान समर्थित विभिन्न सशस्त्र समूहहरूले यसअघि पनि इराक तथा यस क्षेत्रका अमेरिकी सैन्य आधारहरूमा ड्रोन र रकेट आक्रमण गरेको दाबी गर्दै आएका छन्।




