काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०१२ मा प्रक्षेपण गरेको ‘भ्यान एलेन प्रोब ए’ नामक करिब ६०० किलोग्राम तौलको अन्तरिक्ष यान १४ वर्षपछि पुनः पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान गरिएको छ। अमेरिकी स्पेस फोर्सका अनुसार यो यान बुधबार बिहान पृथ्वीको वायुमण्डलमा खस्न सक्ने सम्भावना रहेको छ, यद्यपि यसको समयमा करिब २४ घण्टासम्मको घटबढ हुन सक्ने बताइएको छ।
नासाका अनुसार यान पृथ्वीको वायुमण्डलमा उच्च गतिमा प्रवेश गर्दा घर्षणका कारण यसको अधिकांश भाग जलेर नष्ट हुनेछ। तर केही बलिया पाटपुर्जाहरू भने पूर्ण रूपमा नजल्ने सम्भावना रहेको छ। यद्यपि ती अवशेषबाट मानिसलाई चोटपटक लाग्ने सम्भावना अत्यन्त न्यून रहेको बताइएको छ। नासाले यस्तो जोखिम करिब ४,२०० मा १ मात्र रहेको जनाएको छ।
यो यान पृथ्वीको वायुमण्डलको कुन भागबाट प्रवेश गर्नेछ भन्ने कुरा अझै स्पष्ट नभएको नासाले जनाएको छ। यानको गतिबिधिमाथि नासा र अमेरिकी स्पेस फोर्सले निरन्तर निगरानी गरिरहेका छन् र खस्ने स्थानबारे थप विवरण आवश्यक परेमा अद्यावधिक गरिने बताइएको छ।
‘भ्यान एलेन प्रोब ए’ र यसको जुम्ल्याहा यान ‘प्रोब बी’ लाई पृथ्वीको वरिपरि रहेका विकिरण क्षेत्रहरूको अध्ययन गर्न प्रक्षेपण गरिएको थियो। यी विकिरण क्षेत्रहरूलाई ‘भ्यान एलेन बेल्ट’ भनिन्छ, जसले पृथ्वीलाई अन्तरिक्षबाट आउने हानिकारक विकिरण, सौर्य आँधी तथा सौर्य हावाबाट जोगाउने काम गर्छ।
सन् २०१२ देखि २०१९ सम्म यी यानहरूले पृथ्वीको चुम्बकीय क्षेत्रमा फसेका चार्ज कणहरूको अध्ययन गरेका थिए। उक्त मिसनमार्फत वैज्ञानिकहरूले सौर्य गतिविधि तीव्र हुँदा बन्ने तेस्रो अस्थायी विकिरण क्षेत्रको अस्तित्वसमेत पहिलो पटक पत्ता लगाएका थिए, जसलाई अन्तरिक्ष विज्ञानमा महत्वपूर्ण उपलब्धि मानिन्छ।
इन्धन सकिनुका साथै सौर्य ऊर्जाका लागि सूर्यतर्फ फर्कन नसक्ने भएपछि सन् २०१९ मा ‘भ्यान एलेन प्रोब ए’ को मिसन औपचारिक रूपमा अन्त्य गरिएको थियो। यससँगै प्रक्षेपण गरिएको अर्को यान ‘भ्यान एलेन प्रोब बी’ भने सन् २०३० भन्दा अगाडि पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सम्भावना नरहेको नासाले जनाएको छ।
वैज्ञानिकहरूका अनुसार यो मिसनले पृथ्वीको सुरक्षा घेरा, सौर्य गतिविधि र अन्तरिक्षीय विकिरणबारे बुझ्न महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराएको छ, जसले भविष्यका अन्तरिक्ष अनुसन्धान र उपग्रह प्रविधिमा समेत ठूलो योगदान पुर्याएको छ।




