
काठमाडौं — नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन आज देशभरका हिन्दू धर्मावलम्बीले विधिपूर्वक घटस्थापना गरी घरघरमा जमरा राख्दैछन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेका आधारमा आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको हो।
घटस्थापनाका दिन घरको पूजा कोठा वा दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा देवीको पूजा आराधना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको स्थानमा पवित्र माटो वा बालुवा राखेर जौ छरिन्छ। यसरी राखिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै ग्रहण गर्ने परम्परा छ।
नवरात्रभर दुर्गा देवीका नौ स्वरूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्रीको पूजा गरिने परम्परा छ भने नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ। यस अवधिमा दुर्गा सप्तशती, चण्डी तथा देवीका विभिन्न स्तोत्र पाठ गर्ने र शक्तिपीठहरूमा दर्शन तथा पूजाआजा गर्ने चलन छ।
दशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा आराधना गरिन्छ। दशैंलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।
यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटलाई तोकेको छ।
दशैंले परिवार तथा आफन्तबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, प्रेम र एकताको सन्देश दिने विश्वास गरिन्छ।






Leave a Reply