पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको दिन २०८३/०२/२० गते (भोलि) अन्नपूर्ण आरोहण दिवसलाई ट्रेकिङ एजेन्सिज एशोसिएन (टान) गण्डकी प्रदेशले लमजुङको दोर्दी गाउँपालिकाका क्षेत्रका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्ने भएको छ ।
सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लासनालले पहिलो पटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण गरेको अवसरमा प्रत्येक वर्ष जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने प्रचलन छ । उक्त दिवस हरेक वर्ष अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा मनाउने गरिएकोमा यसवर्ष ७६ औँ आरोहण दिवसमा लम्जुङको दोर्दी गाउँपालिकाका गन्तव्यलाई समेटिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
अध्यक्ष आचार्यले यसवर्ष जेठ २० र २१ मा अन्नपूर्ण आरोहण दिवस मनाउन लागेको बताउनुभयो । उक्त दिन दोर्दी क्षेत्रका पदमार्गको पहिचान र प्रवद्र्धनसँगै स्थानीय कला–संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनले पर्वतीय पर्यटन र वातावरणमा पारेको प्रभाव लगायतका विषयमा अन्तरक्रिया गर्न लागिएको छ ।




