काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सावित्रा भण्डारी घुँडाको चोटका कारण जटिल शल्यक्रियाको तयारीमा छिन्। यसअघि गरिएको एसीएल शल्यक्रियाबाट ग्राफ्ट र एमसिएलमा गम्भीर चोट लागेका कारण उनी थप उपचार आवश्यक छ। कांग्रेसले उनलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम अखिल नेपाल फुटबल संघ (एन्फा) का खातामा जम्मा गरेको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एन्फा अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टी तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोहीअनुसार, एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ।
पार्टीका सभापति गगनकुमार थापाले साम्बाको योगदान र देशको प्रतिष्ठामा गरेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दै सबैले उनलाई सहयोग गर्नुपर्ने बताएका छन्। थापाले व्यक्तिगत र पार्टी तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।




