काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्यान्वयन योजना अनुरूप पूँजी बजार विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेड (सिडिएससी) का उच्च पदस्थ अधिकारीहरूसँग छलफल गरेको छ।
बोर्डले असार ३० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पूँजी बजारमा नयाँ उपकरण तथा सेवाको विविधीकरणलाई प्राथमिकतामा राखिएको छ। सोही कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउन बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको उपस्थितिमा भएको छलफल आर्थिक वर्ष २०८३/८४ को नीतिअन्तर्गत नेप्से र सिडिएससीले सम्पादन गर्नुपर्ने कार्यमा केन्द्रित रहेको थियो।
छलफलपछि अध्यक्ष भट्टले बजार विकाससँग सम्बन्धित बोर्डको नीतिअनुसारका कार्यक्रम कार्यान्वयनका लागि ठोस कार्ययोजना तयार गरी यथाशीघ्र बोर्डमा पेश गर्न नेप्से र सिडिएससीलाई निर्देशन दिएका छन्।
यसैगरी, नेपालमा सर्ट सेलिङ (Short Selling) सेवा सञ्चालनका लागि आवश्यक कानुनी सुधार तथा जनशक्ति र प्रविधिसम्बन्धी संरचनागत आवश्यकता पहिचान गरी पूर्वाधार विकासको काम तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ। बोर्डले यस प्रक्रियामा आवश्यक सबै प्रकारको सहजीकरण गर्न तयार रहेको जनाएको छ।
पूँजी बजार विकासलाई तीव्रता दिन नेप्से र सिडिएससीलाई कार्ययोजना पेश गर्न निर्देशन




