सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक शेयर आईपीओ मा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको हो। यसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
यस्तै, ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरिसकिएको कम्पनीले जनाएको छ।
दोस्रो चरणअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ३१ हजार कित्ता शेयर सुरक्षित राखेको छ। बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




