काठमाडौं । सरकारले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने उद्देश्यसहित हालसम्म २० देशका लागि ‘देश–केन्द्रित रणनीति’ तयार गरेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर मन्त्रालयले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएको छ। विदेशस्थित सबै नेपाली नियोगमा आर्थिक कूटनीति प्रवर्द्धनका लागि ‘फोकल प्वाइन्ट’ तोक्ने प्रक्रिया पनि अघि बढाइएको उहाँले जानकारी दिनुभयो। गत असार २६ यता मन्त्रालयले गरेका प्रमुख कार्य तथा पछिल्ला गतिविधिबारे जानकारी दिँदै प्रवक्ता पौडेलले आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रम निर्देशिका, २०७१ लाई समयअनुकूल परिमार्जन गर्ने काम भइरहेको बताउनुभयो।
यसैबीच, नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई नेतृत्वको नेपाली टोली तथा अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका प्रथम सहायक सचिव सारा स्टोरी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी रहेको मन्त्रालयले जनाएको छ। दुवै पक्षबीच नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ।
पश्चिम एसियाको पछिल्लो परिस्थितिप्रति नेपालले निरन्तर निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ। उक्त क्षेत्रमा शान्ति र स्थायित्व कायम हुनुपर्ने नेपालको धारणा दोहोर्याउँदै प्रवक्ता पौडेलले वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो। हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको र कुनै नेपाली प्रभावित भएको आधिकारिक जानकारी प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत कोलकाता–विराटनगर रेलवे कार्गो सेवा साउन १ गतेदेखि सञ्चालनमा आएसँगै व्यापारिक ढुवानी थप सहज हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ। यसबाट ढुवानी खर्च घट्ने, सेवा सुरक्षित र भरपर्दो बन्ने तथा समग्र व्यापार पारवहन प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी, असार ३१ गते पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकमा सञ्चालनमा रहेका, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय विद्युत् प्रसारण लाइन, भारतीय लगानीका जलविद्युत् आयोजना र विद्युत् आयात–निर्यातलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
दक्षिणपूर्व एसियाका विभिन्न अनलाइन स्क्यामिङ सेन्टरबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ। उद्धार गरिएकामध्ये ७३३ जना कम्बोडिया, ११३ जना म्यान्मार, आठ जना लाओस र छ जना थाइल्यान्डबाट स्वदेश फर्काइएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार कम्बोडियामा हाल ४९ जना नेपाली कारागारमा रहेका छन्। उनीहरूलाई आवश्यक कानुनी सहायता उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइएको छ।
यस्तै, गत असार ३० गते परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका डिफेन्स सेक्रेटरी अफ स्टेट ड्यान जार्भिसबीच भर्चुअल बैठक भएको थियो। बैठकमा नेपालले भूतपूर्व ब्रिटिश गोर्खाका चासो र मागलाई शीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो भने बेलायती पक्षले उक्त विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको मन्त्रालयले जानकारी दिएको छ।
यस अवधिमा परराष्ट्रमन्त्री खनालसँग संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायका प्रमुखहरूले शिष्टाचार भेट गरी नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। साथै, जर्मनी, जापान, संयुक्त राज्य अमेरिका र फ्रान्सका कूटनीतिक प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता सम्पन्न भएको मन्त्रालयले जनाएको छ।




