spot_img
25.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकृषिआत्मनिर्भर बागलुङ अभियानः ८५ महिलालाई बाख्राका पाठापाठी र बोका हस्तान्तरण

आत्मनिर्भर बागलुङ अभियानः ८५ महिलालाई बाख्राका पाठापाठी र बोका हस्तान्तरण

बागलुङ नगरपालिका–१३ ढाडा स्वावलम्बी महिला समूहकी सदस्य गीता परियारले गत वर्षको जेठ महिनामा उपहारस्वरूप प्राप्त गरेको बाख्राबाट जन्मिएको पहिलो पाठी यस वर्ष सोही समूहकी सदस्य चन्द्री हरिजनलाई हस्तान्तरण गर्नुभएको छ । यसैगरी, समूहका अन्य सदस्यहरूमध्ये सात महिलाले पनि यस वर्ष सात वटा बाख्राका पाठा उपहारस्वरूप प्राप्त गरेका छन् ।

बागलुङ नगरपालिकाले सञ्चालन गर्दै आएको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा नगरका १० वडाका ८५ महिलालाई बाख्राका पाठापाठी तथा बीउ पुँजीका लागि बोका वितरण गरिएको छ। नगरपालिकाको आर्थिक सहयोग, हेफर परियोजनाको प्राविधिक सहयोग तथा नेपाल गाँजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा सञ्चालित कार्यक्रममार्फत ७५ वटा पाठी र १० वटा बोका हस्तान्तरण गरिएको हो ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार बागलुङ–५ देखि वडा नं। १४ सम्मका २२ मूल समूह र ४९ उपहार समूहमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । प्रारम्भिक चरणमा खरिद गरेर वितरण गरिएका बाख्राबाट जन्मिने पहिलो पाठी समूहकै अर्को सदस्यलाई उपहारस्वरूप दिनुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार गत वर्ष १० वडामा १०४ वटा पाठापाठी वितरण गरिएको थियो भने यस वर्ष ८५ वटा पाठापाठी हस्तान्तरण गरिएको हो ।

नगरप्रमुख श्रेष्ठले विपन्न तथा लक्षित महिलालाई बाख्रा उपलब्ध गराउनुका साथै उनीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक सीप विकासमा पनि जोड दिइएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले बाख्रापालनलाई व्यावसायिक बनाउन खोर सुधार, पशु स्वास्थ्य व्यवस्थापन तथा किसानको क्षमता अभिवृद्धिका लागि वार्षिक करिब रु एक करोड ५० लाख खर्च गर्दै आएको छ।

उहाँले बाख्रा वितरणमा मात्र कार्यक्रम सीमित नरहेको उल्लेख गर्दै बाख्रापालन सम्बन्धी तालिम, खोर सुधार, बचत व्यवस्थापन तथा आयआर्जन वृद्धि गर्ने सीपसमेत प्रदान गरिएको जानकारी दिनुभयो। बजार क्षेत्रबाहेकका वडामा बाख्रापालनको सम्भावना मूल्याङ्कन गरेर लगानी गरिएको र सकारात्मक परिणाम देखिएकाले आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिने तयारी रहेको उहाँको भनाइ छ।

कार्यक्रम सुरु भएयता तीन वर्षको अवधिमा ६२० भन्दा बढी महिलाले प्रत्यक्ष लाभ लिएका छन् । सहभागी महिलाले बाख्रापालनका लागि बीउ पुँजी प्राप्त गर्नुका साथै विभिन्न तालिममार्फत व्यवसाय विस्तार गर्ने अवसर पनि पाएका छन्। समूहमा आबद्ध महिलाले बाख्रापालनबाट हुने आम्दानीलाई बचत गर्दै आर्थिक रूपमा सबल बन्ने लक्ष्य लिएका छन् ।

नगरपालिकाका अनुसार २२ मूल समूहअन्तर्गत ४९ उपहार समूह गठन गरी बाख्रापालनसँगै तरकारी खेती, बीउ वितरण, टनेल निर्माण तथा अन्य आयमूलक गतिविधिमा समेत सहयोग उपलब्ध गराइएको छ ।

नेपाल गाँजा डेभलपमेन्ट फाउण्डेसनकी कार्यक्रम व्यवस्थापक ममिता पुनले बाख्रापालनलाई बीउ पुँजीका रूपमा विकास गर्दा विपन्न परिवारको आयआर्जनमा वृद्धि हुनुका साथै स्वरोजगारका अवसर विस्तार भइरहेको बताउनुभयो । उहाँले महिलालाई बाख्रापालन, बचत व्यवस्थापन र व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गर्न सकिए ग्रामीण आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here