Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सामूहिक अग्र्यानिक लौकाखेतीबाट सहकारीको आम्दानी बढ्दै, स्थानीय युवालाई रोजगारी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले सामूहिक अग्र्यानिक लौकाखेतीमार्फत कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। सहकारीले व्यावसायिक खेतीबाट आम्दानी वृद्धि गर्नुका साथै स्थानीय युवालाई रोजगारी उपलब्ध गराउँदै…


विज्ञापनAdvertisement Banner
3 min read

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले सामूहिक अग्र्यानिक लौकाखेतीमार्फत कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। सहकारीले व्यावसायिक खेतीबाट आम्दानी वृद्धि गर्नुका साथै स्थानीय युवालाई रोजगारी उपलब्ध गराउँदै सदस्यहरूलाई व्यवसायिक कृषितर्फ आकर्षित गरेको जनाएको छ।

हाल सहकारीले १० कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरिरहेको छ। यहाँ उत्पादन भएको लौका स्थानीय बजारमा दैनिक दुई क्विन्टलभन्दा बढी बिक्री भइरहेको छ। सहकारीका प्रबन्धक ललिता पन्तका अनुसार हालसम्म १२ क्विन्टलभन्दा बढी लौका बिक्रीबाट करिब ३६ हजार रुपैयाँ आम्दानी भएको छ। बजारमा प्रतिकिलो ३० देखि ३२ रुपैयाँसम्म मूल्य पाइने गरेको उहाँले जानकारी दिनुभयो।

प्रबन्धक पन्तका अनुसार प्राङ्गारिक मल तथा सुरक्षित विषादीको प्रयोग गरेर उत्पादन गरिएको लौकाको माग स्थानीय बजारमा राम्रो रहेको छ। उहाँले निड्ससँगको सहकार्यमा सञ्चालन गरिएको कृषि पाठशालाले सदस्यहरूलाई व्यावसायिक खेतीका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्दै कृषिप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो। कृषि पाठशालामार्फत माटो छनोट, खेत तयारी, बेर्ना उत्पादन, मल व्यवस्थापन, सिँचाइ तथा लहरे बाली व्यवस्थापनलगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरेपछि उत्पादन अपेक्षाभन्दा राम्रो भएको सहकारीको भनाइ छ।

सहकारीका अध्यक्ष लालबहादुर ऐरले सदस्यहरूको आयआर्जन बढाउने उद्देश्यले सामूहिक रूपमा लौकाखेती सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उत्पादन र आम्दानी उत्साहजनक भएपछि अन्य सदस्यहरू पनि व्यावसायिक कृषिमा संलग्न हुन इच्छुक बनेका छन्। गाउँमै कृषि व्यवसायमार्फत स्वरोजगार बन्न सकिने विश्वाससमेत बलियो बन्दै गएको उहाँले उल्लेख गर्नुभयो।

सहकारीले लौकाखेती सञ्चालनका लागि दुई स्थानीय युवालाई रोजगारी दिएको छ। बिक्रीबाट प्राप्त रकम सहकारीको कोषमा जम्मा गरी सदस्यहरूको आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरूमा लगानी गरिने अध्यक्ष ऐरले बताउनुभयो। उहाँका अनुसार अहिलेको बालीबाट थप ४० देखि ६० क्विन्टलसम्म लौका उत्पादन हुने अनुमान गरिएको छ। यसअघि पनि सहकारीले भाडामा लिएको एक बिघा क्षेत्रमा चैतेधान, अर्को एक बिघामा तोरी तथा १० कठ्ठामा आलुखेती गरी आम्दानी लिइसकेको छ। साथै सदस्यहरूलाई सहुलियत दरमा मलखाद, बीउबिजन तथा अन्य कृषि सामग्री उपलब्ध गराउँदै आएको छ।

शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले सहकारीको यो अभ्यासले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा सहकारीको प्रभावकारी भूमिका स्थापित गरेको बताउनुभयो। उहाँले सामूहिक प्रयास, सीप र आधुनिक कृषि प्रविधिको उपयोगमार्फत गाउँमै आत्मनिर्भर बन्न सकिने सन्देश यस पहलले दिएको उल्लेख गर्नुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/