
काठमाडौं — बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर लिने कर्जा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनसम्म शेयर धितोमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
गत आर्थिक वर्षको साउनसम्म यस्तो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा शेयर धितो कर्जा २१ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीले बढेको छ। प्रतिशतका आधारमा यस्तो कर्जा १५.१५ प्रतिशतले वृद्धि भएको हो।
तथ्यांकअनुसार शेयर धितो कर्जामा सबैभन्दा ठूलो हिस्सा १ करोड रुपैयाँभन्दा माथिको कर्जाको रहेको छ। साउनसम्म यो समूहमा मात्रै १ खर्ब १९ अर्ब ७० करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।
गत वर्षको साउनमा १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा १ खर्ब १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ थियो। यस वर्ष यो समूहको कर्जा १७.५८ प्रतिशतले बढेको छ।
त्यस्तै, ५० लाख रुपैयाँभन्दा माथि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो कर्जा १६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ थियो। यस समूहको कर्जा १२.२८ प्रतिशतले बढेको छ।
२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा पनि बढेको छ। साउनसम्म यस समूहमा १८ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ थियो। यसअनुसार यो समूहको कर्जा १०.३४ प्रतिशतले बढेको हो।
यता २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा भने तुलनात्मक रूपमा न्यून दरले बढेको छ। साउनसम्म यस्तो कर्जा ८ अर्ब ९० करोड ३२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको साउनमा यो रकम ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ थियो। यस समूहमा कर्जा वृद्धि २.०५ प्रतिशत रहेको छ।
यसरी हेर्दा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको शेयर धितो कर्जाको ठूलो हिस्सा १ करोड रुपैयाँभन्दा माथिको कर्जामा केन्द्रित रहेको देखिन्छ। कुल १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँमध्ये १ करोड रुपैयाँभन्दा माथिको कर्जा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ रहेको छ।


Leave a Reply