जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा कुल सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिनको क्षेत्रफल निरन्तर घट्दै जाँदा खाद्यान्न उत्पादनमा पनि कमी देखिएको हो।
गत आर्थिक वर्षमा वर्षे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका प्रमुख खाद्यान्न बाली उत्पादन भएका थिए। तीमध्ये वर्षे धानको उत्पादन सबैभन्दा बढी तीन लाख ७७ हजार ५३४ दशमलव ३५ मेट्रिक टन रहेको छ। त्यसैगरी मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८, चैते धान ८९ हजार ६५५ दशमलव ३०, फापर तीन हजार ७५८ दशमलव ७०, कोदो ८६९ दशमलव ४७, गहुँ छ हजार ४१९ तथा जौ ८ दशमलव १० मेट्रिक टन उत्पादन भएको तथ्यांकले देखाएको छ।
उक्त आर्थिक वर्षमा जिल्लाभर एक लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खाद्यान्न खेती गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने एक लाख ४५ हजार ३२६ दशमलव ०६ हेक्टर क्षेत्रफलमा खेती हुँदा आठ लाख ५२ हजार २०८ दशमलव २५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो।
तथ्यांकअनुसार एक वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ। यससँगै खाद्यान्न उत्पादन पनि करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।




