इलामको चुलाचुली गाउँपालिका–१ चौबिसेका सन्देश नेम्वाङले वैदेशिक रोजगारीबाट कमाएको पूँजी गाउँमै उत्पादनमूलक क्षेत्रमा लगानी गरेर सफल उद्यमीको परिचय बनाउनुभएको छ। पाँच वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएपछि उहाँले २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ स्थापना गर्दै कृषि तथा पशुपालन व्यवसाय सुरु गर्नुभएको थियो।
सुरुवाती चरणमा करिब २५ लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेका नेम्वाङले अहिले आफ्नो फार्मलाई विस्तार गर्दै करोडौँ रुपैयाँ बराबरको सम्पत्ति सिर्जना गर्न सफल हुनुभएको छ। उहाँले आफ्नै दुई बिघा र थप १५ बिघा भाडाको जमिनमा आधुनिक कृषि प्रणाली अपनाउँदै खेती गर्दै आउनुभएको छ। दक्षिण कोरियामा सिकेको कृषि प्रविधि र अनुभवलाई गाउँमै प्रयोग गरेपछि व्यवसायले राम्रो प्रतिफल दिएको उहाँ बताउनुहुन्छ।
हाल उहाँले कृषि र पशुपालनलाई सँगसँगै अघि बढाउँदै वार्षिक करिब ७० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। विगत आठ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको फार्ममा अहिले १७ वटा भैँसी र सात वटा गाई छन्। तीमध्ये ११ वटा माउ लैना भैँसी र चार वटा माउ लैना गाई रहेका छन् भने चार वटा भैँसी र तीन वटा गाई ब्याउने छन्।
नेम्वाङका अनुसार अहिले दैनिक करिब १२० लिटर दूध उत्पादन हुने गरेको छ। उत्पादन भएको दूध स्थानीय अन्नपूर्ण कृषि सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बिक्री हुँदै आएको छ। गाईको दूध प्रतिलिटर ६५ रुपैयाँ र भैँसीको दूध प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो। सहकारीले दूधको मूल्य फ्याटका आधारमा निर्धारण गर्ने गरेको भए पनि लगानीअनुसार मूल्य अझै बढ्नुपर्ने उहाँको धारणा छ।
दूध उत्पादनसँगै उहाँले मासु उत्पादनलाई पनि व्यवसायको अर्को आधार बनाउने तयारी गर्नुभएको छ। त्यसका लागि राँगा पालन सुरु गरिएको छ। फार्ममा हाल एक दर्जन साना राँगा छन्। पशुका लागि आवश्यक घाँस उत्पादन गर्न पाँच बिघा जमिनमा सुपर नेपियर जातको आधुनिक घाँस खेती गरिएको छ। पशुबाट प्राप्त गोबर मल पुनः तरकारी खेतीमा प्रयोग हुने भएकाले लागत घट्नुका साथै उत्पादनमा पनि फाइदा पुगेको उहाँ बताउनुहुन्छ।
तरकारी खेतीतर्फ नेम्वाङले १० बिघा क्षेत्रफलमा टमाटर, तितेकरेला, सिमी, बोडी, घिरौँला, काँक्रा, बैगुन र खुर्सानीलगायतका बाली लगाउनुभएको छ। उत्पादन भएका तरकारी मुख्य रूपमा झापाको दमक क्षेत्रमा बिक्री हुने गरेका छन्। व्यापारीहरू फार्ममै आएर तरकारी खरिद गर्ने भएकाले बजारको अभाव नरहेको उहाँको अनुभव छ।
विदेशबाट कमाएको रकम गाउँमै लगानी गरेर उहाँले आफू मात्र आत्मनिर्भर बन्नुभएको छैन, पाँच जना स्थानीय युवालाई समेत रोजगारी दिनुभएको छ। उनीहरूलाई खान–बस्नको सुविधासहित प्रतिमहिना २० हजार रुपैयाँ तलब उपलब्ध गराइँदै आएको छ। उहाँको फार्ममा हाल मासिक करिब सात लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ।
नेम्वाङका अनुसार विदेशमा श्रम गरेर कमाएको पूँजी स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके आत्मनिर्भर बन्न सकिने सम्भावना प्रशस्त छ। यही सन्देश दिन आफूले गाउँमै कृषि र पशुपालन व्यवसायलाई प्राथमिकता दिएको उहाँको भनाइ छ।
उहाँको व्यवसाय प्रवर्द्धनमा सरकारी निकायको पनि सहयोग रहेको छ। आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्र इलामले तरकारी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत टनेल व्यवस्थापनका लागि ५० प्रतिशत लागत साझेदारीमा चार लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन भएको तरकारी पकेट कार्यक्रममार्फत ५० प्रतिशत लागत साझेदारीमा आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। यी अनुदानले व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उहाँ बताउनुहुन्छ।
उहाँका अनुसार उत्पादन बिक्री गर्न बजारको समस्या नभए पनि मूल्यमा स्थिरता नहुनु किसानका लागि प्रमुख चुनौती बनेको छ। व्यापारीहरू फार्ममै आएर उत्पादन खरिद गरे पनि मूल्यमा हुने उतारचढावका कारण किसानले अपेक्षित लाभ लिन नसकेको उहाँको गुनासो छ।
युवाको बढ्दो वैदेशिक पलायन रोक्न सरकारले स्वदेशमै उद्यम र व्यवसायलाई प्रोत्साहन गर्ने दीर्घकालीन नीति ल्याउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।
यता चुलाचुली गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्ष पनि व्यावसायिक कृषकलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार कृषिसँग सम्बन्धित मेसिनरी उपकरण वितरण, पशु तथा तरकारी पकेट कार्यक्रम, कृषि सामग्री र बीउबिजन वितरणलगायतका अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस्ता कार्यक्रमले गाउँमै उद्यम गर्न चाहने युवालाई थप प्रोत्साहन पुग्ने विश्वास गाउँपालिकाको छ।




