इलाम। इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसानहरू पछिल्ला वर्षहरूमा व्यावसायिक बेसार खेतीतर्फ आकर्षित भएका छन्। सहकारी संस्थाले बीउ उपलब्ध गराउने र उत्पादन खरिद गर्ने सुनिश्चित व्यवस्था गरेपछि स्थानीय किसानले परम्परागत खेतीलाई आयआर्जनको माध्यमका रूपमा विस्तार गर्न थालेका हुन्।
स्थानीय किसान रामभक्त निरौलाले यस वर्ष करिब तीन रोपनी खेतीयोग्य जमिनमा १०० केजी बीउ बेसार रोप्नुभएको छ। पहिले घरायसी आवश्यकताका लागि मात्र बेसार उत्पादन गर्दै आउनुभएका उहाँले अहिले व्यावसायिक रूपमा खेती सुरु गर्नुभएको हो। उहाँका अनुसार स्थानीय गजुरमुखी महिला बहुउद्देश्यीय सहकारी संस्थाले निःशुल्क बीउ उपलब्ध गराउनुका साथै उत्पादन खरिद गर्ने व्यवस्था गरेपछि व्यावसायिक खेतीतर्फ लाग्ने निर्णय गर्नुभएको हो। आगामी वर्ष खेती क्षेत्र थप विस्तार गर्ने योजना पनि उहाँको छ।
त्यसै गाउँकी किसान अन्जु लिम्बूले पनि यस वर्ष ९५ केजी बीउ बेसार रोप्नुभएको छ। सानो क्षेत्रबाट पनि राम्रो आम्दानी हुन थालेपछि उहाँले खेती विस्तार गर्नुभएको हो। सहकारीबाट आधा परिमाण उत्पादन फिर्ता गर्ने सर्तमा बीउ प्राप्त भएपछि खेती बढाउन सहज भएको उहाँको भनाइ छ। यस वर्ष पाएको ९५ केजी बीउको बदलामा उत्पादनपछि अर्को वर्ष ४२.५ केजी बेसार सहकारीलाई फिर्ता गर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।
गजुरमुखीमा अहिले निरौला र लिम्बूजस्ता ७२ जना किसान व्यावसायिक बेसार खेतीमा संलग्न छन्। सहकारी संस्थाले बीउ वितरण र उत्पादित बेसार खरिद गर्ने जिम्मेवारी लिएपछि किसानहरू नगदे बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका हुन्।
गजुरमुखी महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष डिकमाया लुहागुनका अनुसार किसानको आयआर्जन बढाउने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षदेखि आधा परिमाण उत्पादन फिर्ता गर्ने सर्तमा बीउ वितरण गर्दै आइएको छ। यस वर्ष मात्रै ३१ क्विन्टल बेसारको बीउ किसानलाई वितरण गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार ४० केजी बीउ लिएका किसानले उत्पादनपछि २० केजी सहकारीलाई फिर्ता गर्ने व्यवस्था छ। त्यसरी संकलित बीउ पुनः अन्य किसानलाई वितरण गरिन्छ। सहकारीमार्फत केही किसानले पाँच मनसम्म बीउ लगेको जानकारी दिँदै अध्यक्ष लुहागुनले किसानले उत्पादन गरेको सम्पूर्ण बेसार सहकारीले नै खरिद गर्ने भएकाले बजारको चिन्ता लिनु नपर्ने बताउनुभयो। गुणस्तरका आधारमा प्रतिमन एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म मूल्य दिइँदै आएको छ।
किसान पविमाया मगरका अनुसार कम लगानीमै राम्रो उत्पादन हुने भएकाले बेसार खेतीप्रति आकर्षण बढेको हो। सामान्यतया एक मन बीउबाट करिब पाँच मनसम्म उत्पादन हुने अनुभव उहाँले सुनाउनुभयो। बजार सुनिश्चित भएकाले किसानको उत्साह थप बढेको उहाँको भनाइ छ।
कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा हाल १२३ हेक्टर क्षेत्रफलमा बेसार खेती भइरहेको छ। नगदे बालीका रूपमा परिचित बेसार लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले किसानको आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख रविकिरण अधिकारीले बताउनुभयो।
वडा कार्यालयको निरन्तर सहयोग
माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले पनि बेसार खेती विस्तारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। वडा अध्यक्ष भूपाल योङहाङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा साझेदारी मोडेलमार्फत २८ किसानलाई ७५ हजार रुपैयाँ बराबरको १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराइएको थियो। आर्थिक वर्ष २०८१/८२ मा पनि सोही परिमाणमा सहयोग गरिएको थियो भने चालु आर्थिक वर्ष २०८२/८३ मा एक लाख रुपैयाँ बराबरको २० क्विन्टल बीउ वितरण गरिएको छ।
सुरुमा सीमित किसानबाट सुरु गरिएको कार्यक्रम विस्तार हुँदै अहिले ७२ किसानसम्म पुगेको उहाँले जानकारी दिनुभयो। उद्यमशीलता तथा बेसार खेतीसम्बन्धी तालिमसँगै बीउ वितरण गरिएकाले किसानको सहभागिता बढेको उहाँको भनाइ छ।
गाउँपालिकाको सहयोगमा प्रशोधन केन्द्र सञ्चालन
बेसार उत्पादनलाई मूल्य अभिवृद्धिसँग जोड्न माङसेबुङ गाउँपालिकाको सहयोगमा ‘माङसेबुङको बेसार’ ब्राण्डसहित प्रशोधन केन्द्र स्थापना गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को बेसार प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको ७० प्रतिशत अर्थात् ६ लाख ७५ हजार रुपैयाँ र सहकारी संस्थाको ३० प्रतिशत अर्थात् २ लाख ८९ हजार रुपैयाँ साझेदारीमा कुल ९ लाख ६४ हजार रुपैयाँ लागतमा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो।
यस केन्द्रमार्फत किसानले उत्पादन गरेको बेसार सफाइ, सुकाइ, पिसाइ र प्याकेजिङ गरेर बजार पठाउन थालिएको छ। सहकारीले पहिलो चरणमा १० क्विन्टल बेसार प्रशोधन गरी पाउडर उत्पादन गरेको र ‘माङसेबुङको बेसार’ ब्राण्डमा प्रतिकेजी ९०० रुपैयाँका दरले स्थानीय बजारमा बिक्री सुरु गरेको जनाएको छ।
स्थानीय पहिचानसँग जोडिएको ब्राण्ड
माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईका अनुसार यस क्षेत्रमा उत्पादन हुने बेसार अर्गानिक र गुणस्तरीय भएकाले स्थानीय पहिचानसँग जोडेर ‘माङसेबुङको बेसार’ ब्राण्ड विकास गरिएको हो। कृषिलाई आयमुखी र व्यावसायिक बनाउने नीति अनुसार गाउँपालिकाले कृषि कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो।
उहाँका अनुसार आफ्नै ब्राण्डमा बजार प्रवेश भएपछि स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउने आधार तयार भएको छ।
बेसारको खेती र उपयोगिता
बेसार जिन्जिबेरेसी परिवारअन्तर्गत पर्ने कन्दबाली हो, जसको वानस्पतिक नाम कर्कुमा लोंगा हो। यसको खेती समुद्री सतहदेखि करिब १२०० मिटर उचाइसम्म गर्न सकिन्छ। पानी नजम्ने बलौटे, दोमट तथा हल्का रातो माटो यसको लागि उपयुक्त मानिन्छ भने माटोको पिएच ५.५ देखि ६.५ उपयुक्त हुने विज्ञहरू बताउँछन्।
बेसारमा पाइने प्रमुख तत्व ‘कुरकुमिन’ का कारण यसको पहेँलो रङ देखिन्छ। परम्परादेखि मसला, औषधि, प्राकृतिक रङ, सौन्दर्य सामग्री तथा धार्मिक कार्यमा यसको प्रयोग हुँदै आएको छ। आयुर्वेदमा पनि यसको औषधीय गुणबारे उल्लेख पाइन्छ। ब्याक्टेरिया तथा ढुसीजन्य संक्रमणविरुद्ध उपयोगी मानिने भएकाले विभिन्न स्वास्थ्य प्रयोजनमा समेत यसको प्रयोग हुँदै आएको छ।




