spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तसहकारीबागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं – बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ ।

समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नेछन् । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिए । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ ।

बचतकर्तालाई रकम फिर्ता गर्न करिब रु नौ करोड जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका रु एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई रु १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए

समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here