Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वर्षा अभावले कैलालीमा रोपिएको धान संकटमा, किसानको बढ्दो चिन्ता

असार महिना सुरु भएसँगै खेतबारी हरियालीले भरिनुपर्ने र धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा खुसी ल्याउनुपर्ने अपेक्षा हुन्छ । तर यस वर्ष कैलालीका धेरै किसानका लागि त्यो दृश्य देख्न नपाइने अवस्था बनेको छ…


विज्ञापनAdvertisement Banner
4 min read
Dhankheti

असार महिना सुरु भएसँगै खेतबारी हरियालीले भरिनुपर्ने र धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा खुसी ल्याउनुपर्ने अपेक्षा हुन्छ । तर यस वर्ष कैलालीका धेरै किसानका लागि त्यो दृश्य देख्न नपाइने अवस्था बनेको छ । बोरिङको पानी प्रयोग गरेर धान रोपाइँ सम्पन्न गरेका किसान अहिले लामो समयसम्म पानी नपर्दा नयाँ रोपिएका बिरुवा सुक्न थालेपछि चिन्तित बनेका छन् । लगातारको खडेरीले खेतमा चिस्यान घट्दै जाँदा धानबालीमा प्रत्यक्ष असर देखिन थालेको छ ।

घोडाघोडी नगरपालिका–८ निवासी किसान पार्वती केसी बिहान र बेलुका खेत पुगेर धानको अवस्था अवलोकन गर्ने गर्नुहुन्छ । उहाँका अनुसार रोपाइँका बेला बोरिङको सहाराले काम चलाइए पनि त्यसपछि वर्षा नहुँदा बिरुवा पहेँलिन थालेका छन् ।

केही दिनभित्र पानी नपरे ठूलो क्षति हुने चिन्ता व्यक्त गर्दै अहिले बोरिङमा समेत पर्याप्त पानी नआउँदा थप सिँचाइ गर्न कठिन भएको बताउनुभयो । मेहनत र लगानी दुवै जोखिममा परेको उहाँको भनाइ छ । सोही वडाका किसान डम्बर विष्टले पनि अरूको बोरिङ प्रयोग गरेर प्रतिघण्टा पाँच सय रुपैयाँ तिरेर धान रोप्नुभएको थियो । रोपाइँपछि एक पटक सिँचाइ गरे पनि त्यसयता पानी नपरेकाले धान सुक्दै गएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बोरिङ सञ्चालन गर्दा डिजेल र विद्युत दुवैमा ठूलो खर्च लाग्ने भएकाले पटक–पटक सिँचाइ गर्न सम्भव छैन । समयमै वर्षा नभए उत्पादनमा गम्भीर असर पर्ने उहाँको अनुमान छ ।

घोडाघोडी नगरपालिका–८ कै किसान देशराज चौधरीले धान खेतीका लागि मल, बीउ, मजदुरी र रोपाइँमा उल्लेख्य लगानी गरिसकेको बताउनुभयो । तर मौसमले साथ नदिँदा त्यो लगानी जोखिममा परेको उहाँको गुनासो छ । उहाँका अनुसार भूमिगत पानीको सतह घट्दै गएकाले पहिले सहज रूपमा पानी दिने बोरिङबाट अहिले पर्याप्त पानी आउन छाडेको छ । यसले सिँचाइ झन् कठिन बनाएको उहाँले बताउनुभयो ।

कैलालीका अधिकांश किसान धान रोपाइँका लागि बोरिङको भर पर्छन् । तर रोपाइँपछि आवश्यक पर्ने नियमित सिँचाइ भने वर्षाको पानीमा निर्भर हुने गरेको उनीहरूको भनाइ छ । यस वर्ष असार लागिसक्दा पनि पर्याप्त वर्षा नभएकाले कतिपय खेतमा चिरा पर्न थालेका छन् भने धानका बिरुवाको वृद्धि रोकिएको छ । केही स्थानमा बिरुवा पहेँलिने र सुक्ने समस्या समेत देखिएको छ ।

किसान रामु बूढाथोकीले सुरुवातमा बोरिङबाट सहजै रोपाइँ भए पनि अहिले बोरिङमै पानी कम हुन थालेको बताउनुभयो । पहिले केही घण्टा मोटर चलाउँदा पुग्ने पानी आउने गरेको भए पनि अहिले लामो समय चलाउँदा पनि खेतसम्म पर्याप्त पानी पुग्न नसकेको उहाँको अनुभव छ ।

किसानका अनुसार अहिलेको सबैभन्दा ठूलो समस्या वर्षा अभावसँगै सिँचाइको बढ्दो लागत हो । डिजेल र विद्युत खर्च बढेका कारण सबै किसानले आवश्यक मात्रामा पानी उपलब्ध गराउन सकेका छैनन्, जसको असर धानबालीमा स्पष्ट देखिन थालेको छ ।

खडेरीका बाबजुद पनि कैलालीका किसान नहर, खोला र बोरिङबाट उपलब्ध सीमित पानीको सहारामा रोपाइँ गरिरहेका छन् । घोडाघोडी नगरपालिका–३ का किसान भीम चौधरीका अनुसार धेरैअघि तयार गरिएको धानको बिउ ढिलो गर्दा बिग्रिने अवस्था आएपछि बाध्य भएर महँगो खर्चमा रोपाइँ गर्नुपरेको हो ।उहाँले समयमै वर्षा भए मात्रै अहिले रोपिएको धान जोगाउन सकिने विश्वास व्यक्त गर्नुभयो । स्थानीय किसानहरू अझै पनि पर्याप्त वर्षा हुने आशामा छन् । उनीहरूको अपेक्षा समयमै पानी परोस्, खेतमा चिस्यान फर्कियोस् र रोपिएका धानका बिरुवाले पुनः हरियाली छाओस् भन्ने छ ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा वार्षिक करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसमध्ये करिब तीन प्रतिशत क्षेत्रमा चैते धान लगाइन्छ । यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसान वैकल्पिक सिँचाइका स्रोतको सहारामा रोपाइँ गरिरहेका छन् । तर रोपाइँ सम्पन्न भएका खेतमा समेत धानका बिरुवा सुक्न थालेपछि किसानको चिन्ता थप बढेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/