काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। मंगलबार बिहान एसियाली बजारमा कारोबार हुँदा तेलको मूल्य उल्लेखनीय रूपमा ओरालो लागेको हो।
विश्व बजारको मानक मानिने ब्रेन्ट क्रुडको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर ५० सेन्टमा झरेको छ। त्यस्तै अमेरिकामा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडियट (WTI) कच्चा तेलको मूल्य पनि करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८ डलर ६० सेन्टमा पुगेको छ।
यद्यपि हालको मूल्य युद्ध सुरु हुनुअघिको तुलनामा अझै करिब ३० प्रतिशत बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले सोमबार दिएको अभिव्यक्तिमा इरानमा जारी युद्ध धेरै समय नलागी अन्त्य हुन सक्ने बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि ऊर्जा बजारमा तनाव केही कम हुने अपेक्षा बढेको विश्लेषकहरूले बताएका छन्।
तेलको मूल्य घटेसँगै मंगलबार एसियाली सेयर बजारमा पनि सुधार देखिएको छ। जापानको निक्केई–२२५ सूचकाङ्क करिब २.८ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी सूचकाङ्क ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
खाडी क्षेत्रबाट ठूलो मात्रामा तेल आयात गर्ने एसियाली देशहरूमा युद्धका कारण तेलको मूल्य बढ्दा बजारमा दबाब परेको थियो। अहिले तेलको मूल्य घट्न थालेपछि लगानीकर्ताको विश्वास केही बढेको देखिएको छ।




