Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इरान–मध्यपूर्व तनाव चर्किँदा कच्चा तेलको मूल्य आकासियो, विश्व बजारमा ऊर्जा संकटको चिन्ता

लण्डन - मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो भू–राजनीतिक तनाव र इरानसँगको युद्ध चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १००…


विज्ञापनAdvertisement Banner
3 min read

लण्डन – मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो भू–राजनीतिक तनाव र इरानसँगको युद्ध चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो।

सोमबार एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य करिब १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै, नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले बढेर १०६.७७ डलर पुगेको छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण तथा तेल डिपोहरूलाई निशाना बनाइएको खबर सार्वजनिक भएपछि विश्वभर ऊर्जा आपूर्तिमा संकट आउने त्रास बढेको हो। विश्लेषकहरूले यस साता तेलको मूल्य १०० डलर नजिक पुग्ने अनुमान गरेका थिए, तर एसियाली ट्रेडिङ सुरु भएको केही मिनेटमै मूल्य अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ।

स्ट्रेट अफ हर्मुजमा अवरोधको डर

विश्वको अत्यन्त महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल तथा ग्यास आपूर्तिमा अवरोध आउन सक्ने डरले बजार थप अस्थिर बनेको छ। इरान र वरपरका क्षेत्रमा ऊर्जा पूर्वाधारहरूमा क्षति पुगेका दृश्यहरू सार्वजनिक भएपछि लगानीकर्ताहरू झस्किएका हुन्।

विश्लेषकहरूका अनुसार यदि मार्च अन्त्यसम्म उक्त जलमार्गमा अवरोध कायम रह्यो भने कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गर्दै प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने सम्भावना रहेको छ।

तेलको मूल्यमा आएको तीव्र वृद्धिले पेट्रोलियम पदार्थ मात्र नभई हवाई इन्धन, ढुवानी खर्च र रासायनिक मलका कच्चा पदार्थको मूल्यसमेत बढ्ने अनुमान गरिएको छ। यसले विश्वभर उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।

ऊर्जा आपूर्तिको दिशा परिवर्तन

गल्फ क्षेत्रबाट हुने ऊर्जा आपूर्ति मुख्यतया एसियाली देशहरूमा खपत हुने भए पनि अहिले एसियाली आयातकर्ताहरूले अमेरिकी ग्यासका लागि उच्च मूल्यमा बोलकबोल गर्न थालेका छन्। परिणामस्वरूप युरोपतर्फ जाँदै गरेका केही ग्यास ट्याङ्करहरू बीच बाटोबाटै मोडिएर एसियातर्फ पठाइएका छन्।

राजनीतिक संकेत र सेयर बजारमा असर

यसैबीच, इरानमा सर्वोच्च नेता अली खामेनीका छोरा मोज्तबा खामेनीलाई उत्तराधिकारीको रूपमा चयन गरिएको खबरले देशमा कट्टरपन्थी नेतृत्वको प्रभाव कायम रहने संकेत दिएको छ। यसले क्षेत्रीय तनाव तत्काल कम हुने सम्भावना न्यून रहेको विश्लेषण गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्य वृद्धिलाई इरानको परमाणु खतरा हटाउनका लागि तिर्नुपर्ने “सानो मूल्य” भएको टिप्पणी गरेका छन्। यद्यपि अमेरिकी ऊर्जा सचिवले तेल पूर्वाधारमा भएका आक्रमणमा अमेरिका संलग्न नभई इजरायलको भूमिका रहेको स्पष्टीकरण दिएका छन्।

तेलको मूल्य वृद्धिको प्रभाव विश्वका सेयर बजारहरूमा पनि देखिएको छ। सोमबार एसिया–प्रशान्त क्षेत्रका प्रमुख सेयर बजारहरूमा गिरावट आएको छ। जापानको निक्केई–२२५ सूचकांक ५ प्रतिशतभन्दा बढीले घट्दा अष्ट्रेलियाको एएसएक्स–२०० सूचकांकमा ३.५ प्रतिशतको गिरावट आएको छ।

विश्लेषकहरूका अनुसार ऊर्जा मूल्यको वृद्धिले विश्वव्यापी मुद्रास्फीति बढ्ने खतरा थप बलियो बनाएको छ, जसले आगामी दिनमा विश्व अर्थतन्त्रमा थप अनिश्चितता निम्त्याउन सक्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *