spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारराष्ट्रिय स्वतन्त्र पार्टीको पूँजी बजार सुधार एजेन्डा: नेप्से पुनर्संरचनादेखि बुक–बिल्डिङ सुधारसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीको पूँजी बजार सुधार एजेन्डा: नेप्से पुनर्संरचनादेखि बुक–बिल्डिङ सुधारसम्म

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो नीतिगत दस्तावेजमार्फत नेपालको पूँजी बजारलाई व्यापक रूपमा सुधार गर्ने योजना अघि सारेको छ। बजारलाई पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउने उद्देश्यसहित पार्टीले संरचनागत तथा नीतिगत परिवर्तनको खाका सार्वजनिक गरेको हो।

रास्वपाले सबैभन्दा पहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ कम्पनी (सीडीएससी) को पुनर्संरचना गर्ने प्रस्ताव राखेको छ। ती संस्थामा निजी क्षेत्रको सहभागिता बढाएर प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने तथा प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ।

पार्टीले पूँजी बजारमा नयाँ वित्तीय उपकरणहरू क्रमशः लागू गर्ने लक्ष्य पनि राखेको छ। अन्तरदिवसीय कारोबार (इन्ट्रा–डे ट्रेडिङ), सर्ट सेलिङ, फ्युचर्स र अप्सनजस्ता आधुनिक उपकरणहरू सुरु गरेर बजारको गहिराइ बढाउने र परिपक्व लगानीकर्तालाई आकर्षित गर्ने योजना उल्लेख गरिएको छ।

लगानीकर्ता सुरक्षालाई प्राथमिकतामा राख्दै बजारमा हुने भित्री कारोबार (इनसाइडर ट्रेडिङ) र मूल्य हेरफेरजस्ता गतिविधिमाथि कडाइ गर्ने नीति पनि प्रस्तुत गरिएको छ। सूचीकृत कम्पनीहरूबाट अनिवार्य रूपमा स्वचालित प्रतिवेदन प्रणालीमार्फत सूचना प्रवाह गराउने व्यवस्था गरिने उल्लेख छ, जसले पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रियामा पनि सुधार गर्ने प्रस्ताव राखिएको छ। विशेषगरी बुक–बिल्डिङ विधिलाई थप पारदर्शी र प्रभावकारी बनाउने, मूल्य निर्धारण प्रक्रियामा स्पष्टता ल्याउने तथा निष्पक्ष बाँडफाँट सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

त्यसैगरी, बीमा कम्पनी, निवृत्तिभरण कोष, म्युचुअल फण्डलगायत संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता बढाएर बजारलाई स्थायित्व दिने योजना अघि सारिएको छ। दीर्घकालीन लगानीका लागि ऋणपत्र (बण्ड) बजारको विकासमा समेत जोड दिइएको छ, जसमा सरकारी तथा निजी क्षेत्र दुवैको सहभागिता विस्तार गर्ने अवधारणा समावेश गरिएको छ।

समग्रमा, रास्वपाले नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय अभ्याससँग सामञ्जस्य राख्ने, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउने दीर्घकालीन लक्ष्यसहित सुधारका प्रस्ताव अघि सारेको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here