
काठमाडौं — दशैं सकिएलगत्तै हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको छ । सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता आवेदन दिन १ हजार रुपैयाँ आवश्यक पर्छ ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७६ हजार कित्ता यी दुई गाउँपालिकाका अन्य वडामा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आवेदन खुल्नेछ । उनीहरूले छिटोमा कात्तिक १६ गतेसम्म र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट पनि आवेदन दिन सकिनेछ । आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।






Leave a Reply