काठमाडौं – बुधबार शेयर बजारमा पुनः उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १०.३० अंकले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ। मंगलबार उच्च अंकले बढेको बजारले आज पनि सकारात्मक लय कायम राखेको हो।
आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम ४ अर्ब नाघ्नुले बजारमा लगानीकर्ताको सक्रियता बढिरहेको संकेत गरेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै ङादी ग्रुप पावर को २५ करोड ४७ लाख रुपैयाँ र एसवाई प्यानल को २३ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्। यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले लाभ कमाएका छन्। साथै विन नेपाल लघुवित्त का लगानीकर्ताले ९.६६ प्रतिशत र सुपर माई हाइड्रोपावर का लगानीकर्ताले ९.१८ प्रतिशतका दरले नाफा आर्जन गरेका छन्।
यता, सबैभन्दा धेरै गुमाउने कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ। यस कम्पनीका लगानीकर्ताले ५.९८ प्रतिशतका दरले नोक्सानी व्यहोरेका छन्।
उपसूचकतर्फ हेर्दा आज १० उपसूचक हरियालीमा देखिएका छन्। जीवन बीमा समूहको शेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ। उक्त समूह १.७९ प्रतिशतले बढेको हो। समग्रमा बजार सकारात्मक दिशातर्फ उन्मुख देखिएको विश्लेषकहरूले बताएका छन्।




