
काठमाडौं — भारतका अर्बपति मुकेश अम्बानीको स्वामित्वमा रहेको जिओ प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा ७७ अर्ब अमेरिकी डलरभन्दा बढीको आवेदन परेको छ। यससँगै जिओको आईपीओ भारतीय पुँजी बजारको इतिहासमा सबैभन्दा बढी माग भएको निष्कासन बनेको छ।
रोयटर्सका अनुसार शुक्रबार सम्पन्न बोलपत्र प्रक्रियामा जिओको आईपीओमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको हो। रिलायन्स समूहअन्तर्गतको यस कम्पनीको आईपीओले सन् २००८ मा अनिल अम्बानीको रिलायन्स पावरले कायम गरेको मागसम्बन्धी कीर्तिमानसमेत तोडेको छ।
जिओको आईपीओ मुकेश अम्बानीको नेतृत्वमा रहेको समूहको करिब दुई दशकपछिको पहिलो सार्वजनिक निष्कासन हो। यस आईपीओपछि कम्पनीको मूल्यांकन १०८.३ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ।
भारतमा ५० करोडभन्दा बढी मोबाइल प्रयोगकर्तालाई सेवा दिँदै आएको जिओको आईपीओमा संस्थागत तथा सर्वसाधारण लगानीकर्ताको उच्च सहभागिता देखिएको छ। बुधबारदेखि खुला भएको निष्कासन पहिलो दिनमै दुई घण्टाभित्र पूर्ण रूपमा सब्स्क्राइब भएको थियो। उपलब्ध शेयरको तुलनामा २२ गुणाभन्दा बढी आवेदन परेको बताइएको छ।
अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी, ब्ल्याकरक र फिडेलिटी जस्ता ठूला अन्तर्राष्ट्रिय लगानीकर्ताले पनि जिओको शेयर खरिदका लागि ठूलो रकमको बोलपत्र पेस गरेका थिए। उनीहरूका लागि छुट्याइएको ८५ करोड ४० लाख अमेरिकी डलर बराबरको शेयरका लागि २५.६ अर्ब डलरको आवेदन परेको जनाइएको छ।
रिलायन्स समूहका अनुसार आईपीओमा एक करोड ३८ लाखभन्दा बढी आवेदन प्राप्त भएका छन्। समूहले यसलाई भारतीय बजारमा कुनै पनि कम्पनीको आईपीओमा परेको हालसम्मकै ठूलो आवेदन संख्या भएको दाबी गरेको छ।
जिओले सन् २०१६ मा दूरसञ्चार सेवा सुरु गरेको थियो। सुरुवाती चरणमा निःशुल्क भ्वाइस कल र डेटा सेवा उपलब्ध गराउँदै भारतीय दूरसञ्चार क्षेत्रमा ठूलो प्रतिस्पर्धा सिर्जना गरेको कम्पनीले त्यसयता आफ्नो ग्राहक आधार तीव्र रूपमा विस्तार गरेको छ।
हाल जिओ दूरसञ्चारसँगै डिजिटल सेवाको क्षेत्रमा पनि सक्रिय छ। कम्पनीले एलन मस्कको स्टारलिंकसँग उपग्रहमा आधारित इन्टरनेट सेवाको क्षेत्रमा प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ।
रिलायन्स समूहको स्थापना मुकेश अम्बानीका पिता धीरूभाई अम्बानीले गरेका थिए। भारतीय सर्वसाधारणलाई शेयर बजारमा आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको यस समूहका लागि जिओको आईपीओलाई अर्को ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।






Leave a Reply